काठमाडौं। आफैलाई बुद्धको अवतार दाबी गर्दै आएका रामबहादुर बम्जनलाई मानव अपहरण र कुटपिटसम्बन्धी आरोपमा लगाइएको मुद्दामा अदालतले सफाइ दिएको छ। भक्तपुर जिल्ला अदालतले आज सुनाएको फैसलामा बम्जनमाथि प्रस्तुत प्रमाण अपर्याप्त भएको भन्दै उनी दोषमुक्त भएका हुन्।
केसको विषयमा बम्जनमाथि अनुयायीहरूलाई बन्धक बनाएर शारीरिक यातना दिएको आरोप लागेको थियो। पीडितका परिवारले बम्जन र उनको आश्रममाथि मानवअधिकार उल्लंघन तथा जबर्जस्ती धर्मप्रचार गरेको समेत आरोप लगाएका थिए।
तर अदालतले सरकारी पक्षले प्रस्तुत गरेका प्रमाण र साक्ष्यहरू मुद्दा प्रमाणित गर्न पर्याप्त नभएको ठहर गर्दै बम्जनलाई दोषमुक्त गर्ने निर्णय सुनाएको हो। बम्जन पक्षले भने सुरु देखि नै आफूहरू निर्दोष रहेको र बदनाम गर्न नियोजित ढंगले मुद्दा लगाइएको दाबी गर्दै आएका थिए।
अदालतको फैसलापछि बम्जन समर्थकहरूले भक्तपुरस्थित आश्रममा खुसी व्यक्त गरेका छन्। उनीहरूले यो फैसला न्यायको जीत भएको बताएका छन्।
यस फैसलापछि अब बम्जन कानुनी रूपमा निर्दोष ठहरिए पनि सामाजिक र धार्मिक रूपमा भने उनीमाथिको विवाद टुंगिएको छैन। मानव अधिकारकर्मीहरू भने यो मुद्दाले अपहरणजस्ता गम्भीर घटनाहरूमा न्याय प्रणाली अझै बलियो बनाइनुपर्ने आवश्यकता देखाएको टिप्पणी गर्छन्।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ४ गते बिहिवार