दसौं राष्ट्रिय खेलकुदलाई लिएर मन्त्रीपिच्छे फरक–फरक धारणा

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद आगामी मंसिर २ बाट कर्णाली प्रदेशमा हुने यसअघि नै तय भइसकेको थियो ।

तर, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको मंगलबार सुर्खेत भ्रमणपछि तोकिएको मितिमा बृहत् खेलकुद हुने सम्भावनालाई झनै अन्योल बनाएको छ ।

कर्णालीमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । कर्णाली प्रदेशले गरिरहेको तयारीको जानकारी लिन सुर्खेत पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५ दिनको कार्यायोजना र कार्यतालिकाको कार्य प्रगतिअनुसार दसौंको मिति तय गर्ने जनाएका छन् ।

विशेष गरी केन्द्रदेखि प्रदेशसम्ममा भएको राजनीतिक परिवर्तनले दसौंलाई लिएर मन्त्रीपिच्छे फरक–फरक धारणा आइरहेको छ ।

कर्णाली प्रदेश खेलकुद परिषद्ले अघिल्लो साता दसौं राष्ट्रिय खेलकुदको ‘काउन्टडाउन’ घोषणा गरेको थियो । हतारमा प्रचार गर्नुभन्दा पनि पूर्वाधार निर्माण पदक ल्याउने गरी खेलाडीलाई प्रशिक्षण दिन जरुरी रहेको भन्दै मुख्यमन्त्री यामलाल कँडेल प्रदेश खेलकुद परिषद्प्रति खरो देखिएका थिए ।

संघीय खेलकुदमन्त्री चौधरीले रंगशाला निर्माणको कार्य तीव्र गतिमा गराउन राष्ट्रिय खेलकुद परिषद्बाट इन्जिनियरसहित प्राविधिक टोली खटाउने साथै निर्माण व्यवसायीलाई दुई चरणमा काम गर्न निर्देशन दिएको बताए । उनले भने, ‘निर्माण व्यवसायीले दुई चरणमा काम गरेपछि मिति तय गर्न सहज हुन्छ ।’

सुर्खेतमा निर्माणाधीन रंगशालामा राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियरसहितका प्राविधिक टोलीले १५ दिन काम गर्ने लिखित सहमति भएको छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, संघीय युवा तथा खेलकुदमन्त्री चौधरी, सामाजिक सचिव दीर्घ पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष प्रमोद हमाल र प्रदेश परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालसहित बसेको बैठकले १५ दिनमा मुख्य निर्माण कार्यको प्रगति विवरणको कार्यतालिकाअनुसार काम गर्ने गराउने निर्णय गरेको छ ।

बैठकमा राष्ट्रिय खेलकुद परिषद्बाट इन्जिनियरसहित प्राविधिक खटाउने साथै निर्माण व्यवसायीलाई दुई चरणमा काम गर्न निर्देशन दिने निर्णयसमेत गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया