दैलेख । दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको ४० प्रतिशत काम सम्पन्न भएको छ ।
भैरवी गाउँपालिका जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण ४ महिनामा सक्ने गरी गत जेठदेखि ड्रिलिङको काम सुरु गरिएको थियो ।
चिनियाँ र नेपाली टोली ३ महिनादेखि २ चरणमा काम गर्दै आएका छन् । वर्षौंदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो ।
४ महिनामा काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमिनमुनि कडा चट्टानका कारण १ महिना ढिला हुने अनुमान गरिएको छ ।
४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हालसम्म १ हजा ६ सय ६६ मिटर ड्रिलिङ भइसकेको खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन भूगर्भविद् सुरेश श्रेष्ठले बताए ।
चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् ।
अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
फ्याक्ट सञ्चार । २०८१ भाद्र ६ गते बिहिवार