सिमकोट–हिल्सा सडकमा धमाधम ग्राभेल गर्दै

हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट–हिल्सा सडकमा ग्राभेल गर्ने कार्य धमाधम भइरहेको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि ग्राभेल गर्ने कार्य भइरहेको हो।

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको तीन स्थान चार स्थानमध्ये एउटा खण्डको सडकमा ग्राभेल गर्ने कार्यले तीव्रता पाएको बताए। सिमकोट हिल्सा सडक सडक ९५ किलोमिटर लम्बाइ छ।

उनले स्तरोन्नति सम्पन्न भएपछि यतिबेला सडकमा ग्राभेल बिच्छ्याएर रोलर लगाउने कार्यले गति लिएको बताए।

हाल ग्राभेल भई रहेको सिमकोट हिल्सा सडकको खण्डमा ताग्रु हेक्पा खोलादेखि हेक्पा खोला खण्डको सडक रहेको छ। यो खण्डको दश किमि सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि सडक चौडा गर्ने, ग्याविन लगाउने, पल्म गाह्रो लगाउने कार्य सम्पन्न भएपछि सडकमा ग्राभेल गरिएको हो।

आठ मिटर चौडा सडकमा बीस सेन्टिमिटर बाक्लो ग्राभेल भर्ने र त्यसमा रोलर चलाउने कार्य भएको उनले बताए। उक्त खण्डको सडकमा नाला भने निर्माण गरिएको छैन। हाल ग्राभेल भर्ने कार्य भएको सडकमा पानी हाल्नुपर्ने तर पानी टाढा भएको कारण टाढाबाट पानीको व्यवस्था गर्नुपरिरहेको छ।

एक वर्ष अगाडि उक्त खण्डको सडक निर्माणका लागि दाप्चा आरएन जेभीले आयोजनासंग सम्झौता गरेको थियो। निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेकाले अब अन्तिम भुक्तानीका लागि तयारी भइरहेको छ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सरोज रावतले निर्माण जिम्मा पाएको सडकमध्ये धारापोरीको ठाडा ढुङ्गामा गत असोजमा सुख्खा पहिरो खसेर एक महिना काममा बाधा पुर्याएको भएपनि समय मै काम सम्पन्न हुने बताए।

निर्माण भएको सडकमा ग्राभेल भरेपछि सडकको स्वरुप नै फरक देखिन थालेको छ भने यातायात साधन पनि सहज रुपमा गुड्न थालेका छन्। यसका लागि आयोजनाले पाँच करोड ९८ लाख दश हजार ५०७ रुपियाँ लागत लाग्ने गरी सम्झौता गरेको थियो।

यता, आगामी असारसम्म सिमकोट हिल्सा सडककै ताग्रु खोलादेखि याल्वाङ चौर र याल्वाङदेखि इलिङसम्मको सडकलाई पनि ग्राभेल गर्नुपर्नेछ। ती दुई खण्डको सडकमा सडक चौडा गर्ने, ग्याविन लगाउने, नाला निर्माण र प्लम्प गाह्रो लगाउने कार्य धमाधम भई रहेको छ। यसको लम्बाई साँढे २६ किलोमिटर छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया