बेलुन पड्किँदा घाइते भएका मेयर आचार्य आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं । गत शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफू अहिले पनि आइसोलेसनमा रहेको र भेटघाट तथा बोलचाल गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ६ दिन उपचार गरेर बिहीबार डिस्चार्ज भएका मेयर आचार्यले आज सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

‘म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छु। तपाईंहरूको साथ, सहयोग, सद्भाव, र शुभकामनाका कारण मेरो स्वास्थ्य सुधार हुँदैछ। डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन’ उनले भनेका छन् अत्यावश्यक अवस्थामा कृपया म्यासेज वा भ्वाइस म्यासेज पठाउनु होला। साथै, आउने मङ्गलवारसम्म फोन नगरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु’ ।

‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा मेयर आचार्यसँगै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । पौडेल र आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा राखेर उपचार गरिएको थियो । पौडेल मंगलबार डिस्चार्ज भइसकेका छन् ।

अर्थमन्त्री पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको थियो। । मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया