काठमाडौं। संघीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्दै छन्। बैठकहरूमा आगामी आर्थिक वर्षको बजेट, सार्वजनिक लेखा सम्बन्धी उजुरी, र विपद् व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा छलफल हुने कार्यसूची छ।
प्रतिनिधिसभाको अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जहाँ आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश हुनुपर्ने विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
त्यसैगरी, सार्वजनिक लेखा समिति पनि बिहान ११ बजे बैठकमा बस्दैछ, जसमा समितिमा प्राप्त विभिन्न उजुरीहरूबारे छलफल गरिनेछ।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बजे हुनेछ। बैठकमा विनियोजन विधेयक २०८२ का सिद्धान्त तथा प्राथमिकतासम्बन्धी विषयमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल हुने कार्यसूची छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा विपद् व्यवस्थापन – न्यूनीकरण, प्रतिकार्य र पुनर्लाभ सम्बन्धी कामकारबाही, तथा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा आगामी कार्ययोजना लगायत विविध विषयमा छलफल हुनेछ।
फ्याक्ट सञ्चार । २०८२ जेष्ठ ९ गते बिहिवार