सुर्खेतमा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि ‘र्‍यापिड ड्रग टेस्ट’ कार्यक्रम सुरु

सुर्खेत । सुर्खेत जिल्लामा बढ्दो लागुऔषध दुर्व्यसनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले लागुऔषध परीक्षण किटमार्फत सेवनकर्ताको पहिचान गर्ने ‘र्‍यापिड ड्रग टेस्ट’ कार्यक्रम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रम सार्वजनिक गर्दै प्रहरी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले लागुऔषध दुर्व्यसनले किशोर तथा युवाको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक जीवनमा गम्भीर असर पारिरहेको बताए। पछिल्लो समय सुर्खेतमा लागुऔषध सेवनकर्ताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांकका आधारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वैज्ञानिक, छिटो र भरपर्दो परिणाम दिने र्‍यापिड ड्रग टेस्ट सञ्चालन गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, स्थानीय तह, यातायात व्यवसायी तथा मजदुर संघ, पत्रकार तथा सञ्चारकर्मी, ग्ल्इएक्, कर्णाली प्रदेश प्रहरी अस्पताल, समुदाय प्रहरी साझेदारी समिति तथा लागुऔषध पुनर्स्थापना केन्द्रहरूको संयुक्त सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ। सहकार्यका माध्यमबाट परीक्षण किट व्यवस्थापन, परीक्षण स्थल तोक्ने, जनचेतना अभिवृद्धि, परीक्षण प्रतिवेदन तयार गर्ने तथा आवश्यक परे पुनर्स्थापनासम्मको काम गरिने जानकारी दिइयो ।

लागुऔषध परीक्षणका लागि आधुनिक परीक्षण किट प्रयोग गरिनेछ । मुखको लार र पिसाबको माध्यमबाट कोकेन, ओपिएट्स, हिरोइन, गाँजा, केटामिन, फेन्टानिलसहित १२ प्रकारका लागुऔषध एकै पटक परीक्षण गर्न सकिने बताइएको छ । कार्यक्रमको लक्षित वर्गमा लागुऔषध कसुरमा संलग्न व्यक्ति, सेवनको संकेत देखिएका किशोर तथा युवा, सार्वजनिक सवारी साधनका चालक–परिचालक र शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरू रहेका छन् । परीक्षण स्थलका रूपमा बिरेन्द्रनगर बसपार्क, मेहलकुना, छिन्चु, बाबियाचौर, जहरे, लगायतका विभिन्न क्षेत्र तोकिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार लागुऔषध सेवन, ओसारपसार तथा कारोबार कानुनतः दण्डनीय रहेको स्मरण गराइयो । सकारात्मक परीक्षण देखिएमा कानुनअनुसार कारबाही गरिने र आवश्यक परे सम्बन्धित पुनर्स्थापना केन्द्रमार्फत उपचार तथा परामर्शको व्यवस्था गरिने स्पष्ट पारियो । कार्यक्रममा विशेष जनचेतनामूलक सन्देश दिँदै लागुऔषध दुर्व्यसन कुनै व्यक्तिको मात्र समस्या नभई सम्पूर्ण समाजको चुनौती भएको उल्लेख गरियो ।

अभिभावकले आफ्ना सन्तानको गतिविधिमा ध्यान दिनु, विद्यालय तथा कलेजस्तरमा निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नु, युवालाई खेलकुद, सीपमूलक तालिम र रोजगारीतर्फ आकर्षित गर्नु तथा समुदायले शंकास्पद गतिविधि देखेमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ । आयोजकहरूले दण्ड मात्र नभई उपचार, पुनर्स्थापना र जनचेतनामार्फत स्वस्थ र सुरक्षित समाज निर्माण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन् । यस अभियानले सुर्खेतलाई लागुऔषधमुक्त समाजतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया