सुर्खेत । कालीकोट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले ११ हजार ३३८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगिन्द्र शाहीलाई ९८६ मतले पराजित गरेका हुन् ।
नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हर्षबहादुर बम ७ हजार १३३ मतसहित तेस्रो स्थानमा रहे ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने २ हजार ९३७ मतसहित पाँचौँ स्थानमा सीमित भए । नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६, राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ र मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन्।
यो शाहीको चौथो चुनावी जित हो। यसअघि उनले २०७० र २०७९ मा प्रतिनिधिसभा तथा २०७४ मा प्रदेशसभा निर्वाचन जितेका थिए। कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत हुन् ।
कालीकोटमा १०३ मतदान स्थल रहेका थिए । कुल ८५ हजार ४४ मतदाता रहेको जिल्लामा ४२ हजार ५२३ मत खसेको थियो भने १ हजार ७९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिएका छन् ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २२ गते शुक्रवार