सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडा गरी बस्दै आएका एक परिवारका तीन बालबालिका सम्पर्कविहीन भएको घटनामा उनीहरू सकुशल फेला परेका छन् ।
सोमबार दिउँसो १२ बजे जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–२ रेडियो नेपाल चोक नजिक बस्दै आएका तुलराज न्यौपानेका तीन बालबालिका विद्यालयबाट फर्कने क्रममा कोठामा नपुगी सम्पर्कविहीन भएका थिए ।
घटनाबारे मंगलबार बिहान प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा १० जनाको टोली खटिएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब १० बजे रेडियो नेपाल चोक नजिकै बेवारिसे अवस्थामा तीनै जना बालबालिकालाई सकुशल फेला पारेको जनाएको छ ।
फेला परेका बालबालिकामा ११ वर्षीया प्रतिक्षा न्यौपाने, ७ वर्षीय विवेक न्यौपाने र ५ वर्षीया कल्पना न्यौपाने रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला तथा बालबालिका सेवा केन्द्रमा राखी मनोसामाजिक परामर्श दिइएको प्रहरीले जनाएको छ । अभिभावकलाई जानकारी गराइसकिएको र बालबालिकालाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले घटनाको कारणबारे थप बुझ्ने काम भइरहेको जनाएको छ।

फ्याक्ट सञ्चार । २०८२ चैत्र ३ गते मङ्गलवार