कर्णाली प्रदेशमा फागुन महिनामा ९३ सवारी दुर्घटनास् ८ जनाको मृत्यु, १६० घाइते

सुर्खेत । कर्णाली प्रदेशमा फागुन महिनामा ९३ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरका अनुसार ९३ दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६० जना घाइते भएका छन् ।

घाइतेमध्ये ६४ जना गम्भीर घाइते र ९६ जना सामान्य घाइते रहेका छन् । मृत्यु हुनेमा ७ जना पुरुष र १ महिला रहेका छन् । बालबालिकामा मृत्युको कुनै घटना रिपोर्ट भएको छैन । दुर्घटनामा संलग्न सवारी साधनको संख्या १३१ रहेको छ र सम्पूर्ण दुर्घटनामा ट्राफिक प्रहरीले उद्धार गरेको छ।

प्रहरीका अनुसार अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएका छन् । ६८ वटा दुर्घटना चालकको असावधानी, तिब्रगती, गलत पार्किङ वा चालक असक्षमताका कारण भएका छन् ।

सवारी साधनमा ब्रेक फेलका कारण १९ वटा दुर्घटना भएका छन् । यात्रुहरूले ध्यान नदिँदा एउटा दुर्घटना भएको देखिन्छ । सडकको अवस्था पनि केही दुर्घटनाको कारण बनेको छ, जसमा उकालो, घुम्ती र निर्माण कार्यले ४ वटा दुर्घटना उत्पन्न गरेका छन् ।
मौसमको अवस्था यस महिनामा कुनै दुर्घटनाको कारण बनेको छैन । जनावरले बाटो काट्दा पनि एक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले सबैलाई सडकमा सुरक्षित यात्रा गर्न सतर्क रहन र ट्राफिक नियमको पालना गर्न विशेष आग्रह गरेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया