डिजिटल वालेटमा अर्बौँको कारोबार, पैसा राख्ने प्रयोगकर्ता भने ब्याजबाट वञ्चित!

डिजिटल वालेटमा १४ अर्ब थुप्रियो, प्रयोगकर्तालाई ब्याज दिन किन आनाकानी?

काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै जाँदा विभिन्न वालेट सेवाप्रदायकमार्फत अर्बौँ रुपैयाँ कारोबार हुन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत भदौसम्म देशभर व्यक्तिगत तथा व्यावसायिक गरी २ करोड ८१ लाखभन्दा बढी डिजिटल वालेट खाता खुलेका छन्।

राष्ट्र बैंकका अनुसार ती वालेट खातामा कुल १४ अर्ब १८ करोड ६० लाख रुपैयाँ मौज्दात रहेको छ। यसअनुसार एउटा वालेट खातामा औसत ५०० रुपैयाँ रकम रहेको देखिन्छ। यद्यपि खुलेका वालेट खातामध्ये करिब ५० प्रतिशत निष्क्रिय रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपालमा ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे, सेलपे, नमस्ते पे लगायतका डिजिटल भुक्तानी सेवाहरू प्रयोगमा छन्। पछिल्लो समय मोबाइलबाटै रकम पठाउने, क्यूआर स्क्यान गरी भुक्तानी गर्ने तथा विभिन्न सेवा शुल्क तिर्ने प्रवृत्ति बढ्दै गएको छ।

तर वालेटमा रकम जम्मा गरेर राख्दा अधिकांश प्रयोगकर्ताले ब्याज पाउँदैनन्। नेपाल राष्ट्र बैंकका अनुसार डिजिटल वालेट दैनिक खर्च तथा भुक्तानीका लागि प्रयोग हुने डिजिटल पर्स भएकाले यसलाई बैंकिङ निक्षेपको विकल्पका रूपमा विकास गर्न खोजिएको छैन।

यद्यपि केही वालेट सेवाप्रदायकले बैंकसँगको सहकार्यमा निश्चित सर्तसहित ब्याज सुविधा उपलब्ध गराउँदै आएका छन्। यस्तो सुविधा प्रदान गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने व्यवस्था छ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार भदौ महिनामा मात्रै डिजिटल वालेटमार्फत ४९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो। यसले नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग र कारोबारको आकार निरन्तर विस्तार हुँदै गएको देखाउँछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया