आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

सुर्खेत । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नारासहित आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

सरकारी निकाय तथा ट्रेड युनियनहरुले विभिन्न प्रचारात्मक कार्यक्रम गरी दिवस मनाउँदैछन् । ट्रेड यूनियनले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्यूनतम ज्याला बढाउन, आर्थिक मन्दीका नाममा तलब रोक्ने काम बन्द गराउन माग गर्दै आएका छन् ।

ट्रेड युनियनहरुको चर्को दबाबपछि सरकारले पनि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको छ । उद्योगीसमेतको सहमतिमा दुई महिनाभित्र तलब बढाउने जनाइएको छ । अहिले श्रमिकको न्यूनतम ज्याला भत्तासहित १५ हजार रुपैयाँ छ ।

राष्ट्रिय जनगणना २०७८ ले १ करोड १० लाख ३८ हजार मानिस कुनै न कुनै किसिमको रोजगारमा संलग्न रहेको देखाएको छ । यसमध्ये कृषि, वन र माछापालनमा ५० प्रतिशत, सामान्य वा प्राथमिक पेशामा २३ प्रतिशत, सेवा तथा वस्तु बिक्रीमा करिब ६ प्रतिशत संलग्न छन् । श्रमिक दिवसका अवसरमा विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक बिदा दिन थालेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया