जाजरकोटमा केही मिनेटको अन्तरालमा दुई भूकम्प, स्थानीय त्रसित

सुर्खेत । जाजरकोट फेरि भूकम्पले हल्लिएको छ। शुक्रबार साँझ केही मिनेटको अन्तरालमा दुई पटक भूकम्पको झट्का महसुस भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार साँझ ८:०७ बजे जाजरकोटको पैक आसपास केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। त्यसको तीन मिनेटपछि ८:१० बजे सोही क्षेत्रमा पुनः ५.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ।

हालसम्म भूकम्पबाट जनधनको क्षति भएको नतोकिए पनि भूकम्पीय गतिविधिले स्थानीयहरूमा डर र त्रास फैलिएको छ।

गत वर्ष कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो। त्यस भूकम्पमा सयौंले ज्यान गुमाएका थिए भने हजारौं विस्थापित भएका थिए। पछिल्ला झट्काले ती भयावह क्षणहरू फेरि झल्काइदिएका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया