ज्याेति फाउन्डेसनको भुकम्प प्रभावित क्षेत्रका छात्रालाई वितरण

सुर्खेत । श्री ज्याेति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकाेट र रूकुम पश्चिमका भूकम्प प्रभावित छाेरीहरूलाई छात्रवृत्ति वितरण गरेकाे छ ।

फाउन्डेसनले गैर-आवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन-तीन पालिकाका १५ जना छाेरीहरूलाई छात्रवृत्ति वितरण गरेकाे हाे ।

जाजरकाेटकाे भेरी नगरपालिका-१ रिम्नामा आयाेजित कार्यक्रममा जाजरकोटकाे बारेकाेट गाउँपालिकाका ३, नलगाड नगरपालिकाका २ र भेरी नगरपालिकाका ४ बालिकालाई छात्रवृत्ति वितरण गरिएकाे अध्यक्ष ज्याेति कटुवालले जानकारी दिइन् ।

उस्तै रूकुम पश्चिमकाे आठबीसकाेट नगरपालिकाका २, सानीभेरी गाउँपालिकाका २ र चाैरजहारी नगरपालिकाका २ छात्राहरूलाई वार्षिक छात्रवृत्ति वितरण गरिएकाे उनले जानकारी दिइन् ।
१५ जना छात्राहरूलाई स्कुल पाेशाक, स्टेशनरी सामाग्रीलगायत वितरण गरिएकाे थियाे ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्पमा अभिभावक गुमाएमा, अति विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएकाे भन्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् ।

उनले फाउन्डेसनले छनाेट गरेका बालिकाका अभिभावकहरूलाई नगरपालिकामार्फत आयआर्जनकाे कार्यक्रम दिइने बताइन् । `अति आवश्यक ठाउँमा सहयाेग पुगेकाे छ, याे सहयाेग उच्च शिक्षा अध्ययनसम्म कायम रहाेस्,´ उनले भनिन्, `नगरपालिकाबाट हुने सहयाेग गर्न हामी तयार छाैं ।´

जनज्याेति मावि आठवीसकाेट रूकुम पश्चिमका प्रधानाध्यापक मन्जुदेवी खड्काले स्कुल पाेशाक र लेख्नका लागि कापी र कलमसम्म नपाउँदा धेरै बालबालिका पढ्नबाट बन्चित रहेकाे बताइन् । `भुकम्पपछि त रूकुम र जाजरकोटमा याे ठूलाे समस्या बनेकाे छ,´ उनले भनिन्, `संकटका बेला ज्याेति फाउन्डेसनको सहयाेग धेरै महत्वपूर्ण छ ।´

फाउन्डेसनका अध्यक्ष कटुवालले १० कक्षासम्म छात्राहरूलाई निरन्तर सहयाेग गर्ने बताइन् । उनले छात्रवृत्ति दिइएका छात्राहरूकाे स्वास्थ्य विमाकाे जिम्मेवारी पनि फाउन्डेसनले लिने बताइन् ।

उनले फाउन्डेसनकाे स्थापना लगत्तै जाजरकाेट केन्द्रविन्दू बनाएर भुकम्प गएकाले तत्काल जाजरकोट र रूकुम पश्चिमका छाेरीहरूलाई सहयाेग गरिएकाे बताउँदै आगामी दिनमा कर्णाली अरू जिल्लाहरूमा पनि छाेरीहरूका लागि कार्यक्रम सन्चालन गरिने बताइन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया