चर्च ब्वाइजलाई हराउँदै आर्मी आहारारा गोल्डकपको फाइनलमा

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।

यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।

हेम्जनले करिब ३० यार्डबाट पाएको फ्रिकिकलाई सदुपयोग गर्दै बललाई विपक्षी गोलपोस्टको जाली चुमाए । ६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउन पुगेका थिए ।

लगत्तै उनलाई मुख्य रेफ्री प्रज्वल क्षत्रीले पहेंलो कार्ड दिँदै आर्मीलाई फ्रिकिकको मौका दिए । त्यही मौका हेम्जनले गुमाएनन् । उनले प्रहार गरेको ग्राउन्ड सट चर्च ब्वाइजका गोल रक्षक सन्तोष महतले रोक्ने कुनै अवसर पाएनन् ।

तर, अन्तिम समयमा चर्च ब्वाइजले गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयमा आर्मीले अग्रता लिएको केही समयपछि चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्न लागेको थियो ।

मैदानभित्र रहेका सन्तोष खत्रीको ठाउँमा लाइनअपमै नभएका कृपाकान्त चौधरीलाई मैदान पठाएको थियो । भित्र छिरिसकेका चौधरीको लाइनअपमै नाम नभएको सहायक रेफ्रीले जनाउ दिएपछि मुख्य रेफ्री प्रज्वल क्षेत्रीले उनलाई बाहिर पठाए । उनीसँगै सन्तोष खत्री पनि बाहिर आइसकेका थिए ।

केहीबेर १० जना मात्रै खेल खेलेपछि बल्ल लाइनअपमा भएका मनिष जर्घामगर मैदान प्रवेश गरे ।

आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । आर्मी र थ्रीस्टार पछिल्लो पटक २०७५ मा सँगै फाइनल पुगेका थिए । त्यतिबेला निर्धारित समय २–२ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा थ्रीस्टारले बाजी मारेको थियो ।

थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने त्रिभुवन आर्मी क्लब उपाधिविहीन छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया