सुर्खेत । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल जेसीज को पत्राचार अनुसार दैलेख जेसीज को आयोजनामा दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहेको थियो। संवाद कार्यक्रममा रविन्द्रराज शर्मा (नेकपा एमाले), रामलाल विश्वकर्मा (नेकपा माओवादी), जगतबहादुर ओली (नेपाल मजदुर किसान पार्टी), मेनका श्रेष्ठ (आम जनता पार्टी) तथा लोकबहादुर बोगटी (स्वतन्त्र) सहभागी भएका थिए ।
कार्यक्रममा उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा, विकास दृष्टिकोण, रोजगारी सृजना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार र सुशासनप्रतिको प्रतिबद्धता सार्वजनिक गरेका थिए । सहभागी युवाहरू तथा सरोकारवालाहरूले उम्मेदवारहरूलाई प्रत्यक्ष प्रश्न गर्दै जिल्लाको समग्र विकास, भ्रष्टाचार नियन्त्रण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन लगायत विषयमा स्पष्ट धारणा माग गरेका थिए ।
संवाद कार्यक्रमले मतदातालाई उम्मेदवारको योजना र सोचबारे प्रत्यक्ष जानकारी लिन अवसर दिएको आयोजकले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मतदाता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दैलेख जेसीजले स्पष्ट पारेको छ ।
कार्यक्रममा नागरिक समाज, युवा, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता खुला संवाद कार्यक्रमले लोकतान्त्रिक संस्कार मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


फ्याक्ट सञ्चार । २०८२ फाल्गुन १२ गते मङ्गलवार