लखनउसँग गुजरात पराजित

काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो। १६४ रनको लक्ष्य पछ्याएको गुजरातलाई लखनउले १८.५ ओभरमै १३० अलआउट गर्‍यो।

गुजरातका यश ठाकुरले सर्वाधिक ५ विकेट लिए। क्रुनाल पाण्डेले ३ तथा नवीन उल हक र रवि बिस्नोईले १/१ विकेट लिए।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३१ रन बनाए। २३ बल खेलेका उनले ४ चौका प्रहार गरे। रवि टेवाटिया ३०, शुभमन गिल १९, विजय शंकर १७ र दर्शन नालकन्डेले १२ रन बनाए।

त्यसअघि घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाए।

लखनउका मार्कश स्टोइनिसले अर्धशतक बनाए। उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५८ रन बनाए।

कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको मद्दतले ३३ रन जोडे भने निकोलश पुरन ३२ र आयुश बदोनीले ११ रन बनाए।

गुजरातका उमेश यादव र दर्शन नालन्डेले २/२ विकेट लिए। राशिद खानको नाममा १ विकेट रह्यो। जितसँगै लखनउ ३ जितसहित ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ।

५ खेल खेलिसकेको गुजरात ३ खेलमा पराजित हुँदै सातौँ स्थानमा छ। गुजरातको ४ अंक रहेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया