काठमाडौं । आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारी भगवान विष्णुको पुजा अर्चना गरि मनाइदैछ ।
हरिशयनी एकादशी यानि आषाढ शुक्ल एकादशीका दिनलाई देवशयनी एकादशी, पद्मनाभ एकादशी पनि भनिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीक मानिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुले क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
पुराणहरूका मत अनुसार भगवान विष्णु यस दिन देखि चार महिनासम्म पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । त्यसैले यस दिनलाई देवशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमास पनि भनिन्छ ।
चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
एक वर्षमा पर्ने २४ एकादशी मध्य सक्नेले सबै र नसक्नेले चर्तुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्ने गर्छन् । यी आठ एकादशीपनि सम्भव नहुनेले भने हरिशयनी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
देवशयनी एकादशी व्रतविधि
एकादशीको दिन बिहानै उठेर घरको सर–सफाई गरि नुहाएर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा भगवान विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउने । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्ने ।
त्यसपश्चात एकादशीको व्रतकगा सुन्ने । कथा सुनिसकेपछि आरती गरेर प्रसाद ग्रहण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा(सिरानी) भएको खाटमा भगवान श्री विष्णुलाई शयन गराउने । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने, रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
देवशयनी एकादशीको पौराणिक व्रतकथा
सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो ।
प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए । यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’
अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो । धार्मिक मान्यता अनुसार यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले भगवान प्रशन्न हुन्छन् र मनोकामना पूरा हुन्छ ।
वैज्ञानिक महत्व
वैज्ञानिक रुपमा बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएको स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
फ्याक्ट सञ्चार । २०८१ साउन २ गते बुधवार