सुर्खेत । सुर्खेतमा गुडिरहेको गाडिबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन् ।
गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए ।
घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उपाध्याय वीरेन्द्रनगरमा लामो समयदेखि डेरी सञ्चालन गर्दै आएका थिए ।
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन ३० गते शुक्रवार