सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले शनिबार प्रदेश रंगशालामा लोगो र मस्कटसहित १०० दिनको काउन्टडाउन पनि सार्वजनिक गरिएको हो ।
परिषद्का सदस्य सचिव विश्वमित्र संज्यालले सात वटा रंगमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो बनाइएको बताए ।
कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ बन्यजन्तु रेडपाण्डा रहेको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु गरेसँगै परिषद्ले पाँच मुख्य कामलाई ध्यान दिएर अगाडि बढेको परिषदका सदस्य–सचिव विश्वामित्र संज्यालले बताए ।
उनले पहिलो प्रथामिकतामा राखेका पाँच काममध्ये पूर्वाधार, बसोबास ,यातायात, स्वास्थ्य र सुरक्षा रहेको बताए ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकीकार्य असोजसम्म सम्पन्न गर्ने कार्य योजना तयार उनको भनाइ छ ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयमै निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
फ्याक्ट सञ्चार । २०८१ साउन २६ गते शनिवार