सर्वोच्चले प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयनमा लगायो रोक

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयनमा रोक लगाएको छ।

तीस वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन सर्वोच्चले आज अन्तरिम आदेश दिएको हो।

यही भदौ १६ गते अवकाशमा जान लागेका २१ जना प्रहरी अधिकारीले बुधबार ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दिएको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको उल्लेख गर्दै उनीहरूको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि भनेको छ। ​सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग्दै १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकृतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया