कर्णालीमा बजेट प्रस्तुति अनिश्चित, राजनीतिक विवादले सदन ठप्प

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि तयार गरेको बजेट समयमै सार्वजनिक नहुने भएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण  प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको हो।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पुरा थियो। तर प्रमुख प्रतिपक्षी दल माओवादीले छलफल विना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको हो।

मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन। सहमति जुटाउने प्रयास भइरहेको छ।

यता, माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले परामर्श विना बजेट बनाएको भन्दै बजेटको विरोधमा होइन तर प्रक्रिया र मर्यादा मिचेर अघि बढेकोमा विरोध गरेको बताए ।

आन्तरिक स्रोत र संघीय सरकारको सहयोगमा तयार पारिएको बजेटमा पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणलाई प्राथमिकता दिइएको बताइएको छ।

अब आगामी दिनमा राजनीतिक सहमति जुटाएर सदन पुनः सञ्चालन नहुँदासम्म बजेट सार्वजनिक नहुने स्पष्ट भएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया