गुर्भाकोटको खटाङ क्षेत्रमा तिनमुखे पुल शिलान्यास

सुर्खेत । सुर्खेतको गुर्भाकोटको खटाङ क्षेत्रमा तिनमुखे पुलको शिलान्यास गरिएको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १२ र १३ नम्वर वडा जोड्ने गरेर पुल निर्माण सुरु गरिएको हो ।

मंगलबार तीनमुखे पुलको नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवम् पर्यटकीय क्षेत्र खटाङमा शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताए । ‘नदी उत्तर फर्कनु निकै धार्मिक मानिन्छ, यहाँको भेरी नदी पनि उत्तरमा फर्केको छ । यो एकदमै कम स्थानमा छ,’ उनले भने, ‘बजेटमान्रै ल्याएर नहुने रहेछ कार्यान्वयन पनि उतिकै जरुरी छ । उनले पर्याप्त मात्रामा बजेट भएको योजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।

सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीन मुखे पुल बन्ने बताए । उनले २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको बताए । ‘यो पुल १.६० मिटर चौडाई र ६५४.६० मिटर लम्वाईको हुनेछ,’ उनले भने, ‘नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीन मुखे पुलहरु मध्ये यो सबैभन्दा लामो हो ।’

इन्जिनियर थापाका अनुसार खटाङ टापुमा बन्ने टावरको उचाइँ २५.२३ मिटरको हुनेछ । पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्रीगीता कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाइण्डेशन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तिब्रता दिएको छ ।

सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइँका २५ वटा पिल्लर निर्माण हुनेछन् ।

यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइँका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउण्डेशन निर्माण गरिनेछ । घुमखहरे होचोँ क्षेत्र भएकाले त्यहाँ टावर निर्माण गर्न लागिएको उनले बताए । ‘अरु दुई क्षेत्र मुख्य टावर बराबर छन्को उचाइँमा छन्, घुमखहरे मात्रै होचोँ छ,’ उनले भने, ‘त्यहीँ भएर घुमखहरेमा १६ मिटर गहिराइँका १४ वटा पिल्लर निर्माण गर्न लागिएको हो ।’

पुल तीनतर्फ बराबर लम्वाईका हुनेछन् । तीन वटै पुल मुख्य टावरदेखि २१८.२० मिटर लामा हुनेछन्,’ उनले भने, ‘सोही अनुसार तीनतिरै फाउन्डेसन निर्माणको काम भइरहेको छ ।’ पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते संझौता भएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया