सुर्खेत । सुर्खेत जिल्ला भरीका पच्चीस हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभि (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।
खोप अभियान २२ माघबाट दुई चरणमा विभिन्न पालिकाहरुमा लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले बताएका छन् । उनले भने पहिलो चरणमा माघ २२ देखि २५ सम्म बिरेन्द्रनगर, भेरीगंगा, लेकबेसी नगरपालिका सहित चिङ्गाड र बराहताल गाउँपालिकामा खोप लगाइने र दोस्रो चरणमा माघ २७ देखि फागुन १ सम्म चौकुने, सिम्ता गाउँपालिका र पञ्चपुरी र गुर्भाकोट नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने निरीक्षक बुढाले बताएका छन् ।
उक्त खोप विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप दिइने भएको छ । विद्यालय जाने विद्यार्थीहरूका लागि उमेर हेरिने छैन भने विद्यालय बाहिरका किशोरीहरूका लागि जन्मदर्ताको आधारमा उमेर प्रमाणित गरिने बताएका छन् ।
कार्यक्रममा प्रदेश अस्पतालका निर्देशक डा। केशर ढकालले एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठनलबाट प्रमाणित भैसकेको र पूर्णरूपमा सुरक्षित भएकाले ढुक्क भएर खोप लगाउन बताएका छन् ।
खोप लगाएपछि कसैलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने, वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिए पनि केही समयमै ठीक हुने भएकाले नआत्तिनसमेत निर्देशक ढकालले बताए । उनका अनुसार खोपकै कारण जटिल प्रकारको समस्या देखिए तल्कालै समस्याको समाधान गर्न प्रदेश अस्पताल तयारी अबस्थामा रहेकोसमेत बताएका छन् ।
जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख एवं खोप अभियानका संयोजक गंगाराम सुनारले सरकारले ल्याएको यस अभियानलाई प्रभावकारी बनाउन सबै पक्षहरूबाट सहकार्य आवश्यक रहेको बताए ।
सुर्खेतका ९० प्रतिशत किशोरीहरूलार्ई खोप दिने लक्ष्य राखिएको छ । साथै, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्ने सरकारको योजना रहेको छ । कर्णाली प्रदेशमा १० जिल्लाका १ लाख २० हजार ५ सय १० किशोरीलाई खोप दिइने यूनिसेफको तथ्यांक छ ।
फ्याक्ट सञ्चार । २०८१ माघ १९ गते शनिवार