बजेट कार्यान्वयन कमजोर, विकास खर्च कम रहनु लाजमर्दो विषय : प्रदेश प्रमुख जोशी

सुर्खेत । कर्णाली प्रदेशको स्थापना दिवसको अवसरमा प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कार्यान्वयन कमजोर, विकास खर्च कम रहनु लाजमर्दो विषय भएको बताएका छन् । कर्णाली प्रदेशसभाले सोमबार आफ्नो सातौँ स्थापना दिवस मनाएको छ ।

सभाले कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको मुल समारोहलाई प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र प्रतिपक्ष दलका नेता राजकुमार शर्माले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमलाई प्रदेश प्रमुख जोशीले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा सुधार गर्नुपर्ने जोड दिएका छन् । उनले सरकारले बजेट खर्च गर्न नसकेको भन्दै प्रश्न समेत उठाए ।

‘असारमा हामीले सुन्न नपरोस् कि कर्णालीमा विकास बजेट २८ देखि ३० प्रतिशत मात्रै खर्च भयो भनेर । विगतमा हामीले समाचारमा सुन्दै आएका छौँ,’ उनले थपे, ‘पैसा नपाएर कर्णाली गरिब हुने, विकास नहुने तर भएको पैसा खर्च नहुने भन्दै यो जस्तो अप्ठ्यारो र लाजको विषय अरू केही हुँदैन ।’
कर्णालीलाई सम्पन्न बनाउने वाचा गरिएको स्मरण गर्दै ७ वर्षपछि समीक्षा आवश्यक रहेको बताए । उनले प्रगति भए पनि अपेक्षा अनुसार काम हुन नसकेको टिप्पणी गरे । प्रदेश प्रमुख जोशीले कर्णालीको विकास सबैको जोश, जाँगर र समर्पणले सम्भव हुने भन्दै साझा प्रतिबद्धता अनुसार काम गर्न सुझाव दिए ।

यस्तै प्रतिपक्ष दल (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले संघीयताको मुख्य उद्देश्य शक्ति विकेन्द्रिकरण र स्थानीय स्वायत्तता हो। तर ऐतिहासिक, राजनीतिक र प्रशासनिक कारणले गर्दा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता कायम रहेको छ, जसले स्थानीय तहको निर्णयमा हस्तक्षेप बढाउँछ। यस समस्यालाई समाधान गर्न स्पष्ट कानूनी ढाँचा र दीर्घकालीन सुधार आवश्यक छ ।

‘त्यसका विरुद्धमा प्रदेश तहबाट लिनुपर्ने हाम्रा पहलकदमीहरु जसरी हुनुपथ्र्याे त्यो हुन सकेका छैनन्,’उनले भने, ‘त्यस कारण हामी जटिलतामा छौँ ।’ शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि साझा प्रतिबद्धता आवश्यक रहेको भन्दै उनले प्रदेशसभाले जनतासँगको सहकार्य व्यवस्थित गर्न नसकेको टिप्पणी गरे ।

मुख्यमन्त्री यामलाल कँडेलले आफुलाई ठूला दल भन्नेहरू सरकारको नेतृत्वमा रहँदा उदासीन भएको तर सत्ता गुमाएपछि आन्दोलनमा उत्रिने प्रवृत्ति हावी रहेको बताए । यसै कारण कतिपय नीति तथा कानुन निर्माण हुन नसकेको बताए ।

जनताका सबै कुराको सम्बोधन गर्न नसकेपछि जनतालाई निराश नबनाउने आधारबाट सरकार अघि बढीरहेको उनको भनाई छ ।
स्वयंम आफुले अपेक्षा गरेअनुसार काम नभएको बताउँदै बजेट विनियोजनको सुत्रले कर्णाली सँधै पछाडि परिरहेको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया