सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताएका छन् । सोमबारदेखि सुर्खेतमा सुरु कर्णाली उत्सवको छैटौं संस्करणलाई सम्बोधन गर्दै उनले उनले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर रहेको बताए ।
मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्त्वपूर्ण सडकको स्तरोन्नतिको लागि धेरै बजेट विनियोजन गरेको जनाए ।
‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट विनियोजन भई काम अगाडि बढ्ने प्रक्रियामा रहेको अवस्था छ, उनले भने, अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरू भएका छन् ।’
मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औँल्याए । आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमा रहेको उनको भनाइ छ ।
उनले भने,‘कर्णालीले मानसरोवर एवं मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुण्डोलगायत सांस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय पहिचान बढाएका मद्दत गरेका छन् ।
कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ ।’ यति हुँदाहुँदै पनि कर्णाली भन्ने बित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत् रहेको उनले टिप्पणी गरे ।
उनले भने, वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ । कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पु¥याउन जरुरी छ ।’
पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरूले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन ।
आफ्नो अधिकार क्षेत्र पर्ने कामहरू इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरू संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु,’ उनले भने । मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गरे ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताए । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशीलता र उत्पादनमा जोड दिनुपर्ने उनको भनाई थियो ।
उत्सवको उद्घाटनमा बोल्दै नेपाल सरकारका पूर्व सचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरिएको बताए । ‘कर्णालीका समस्याहरुलाई राष्ट्रिय समस्याका रुपमा स्थापित गर्नका लागि पनि यस्ता खालका बहसहरु उपयुक्त हुन्छन्,’ उनले भने, ‘नीति बहस निकै आवश्यक हुन्छ। पछाडि परेको वर्ग समुदायलाई माथि उठ्नका लागि यस्ता खालका बहसले निकै मद्दत पुग्छ ।’
फ्याक्ट सञ्चार । २०८१ फाल्गुन ५ गते सोमवार