वीरेन्द्रनगरमा महिलामैत्री मिलन पार्क निर्माण शुरु, १ करोड ६५ लाखको लागत

सुर्खेत । वीरेन्द्रनगरमा महिलामैत्री सुविधा सहितको मिलन पार्क निर्माण कार्य सुरु भएको छ । आइतबार वीरेन्द्रनगर-८ मा निर्माण हुने मिलन पार्कको शिलान्यास वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले गरेसगैं निमार्ण कार्य सुरु भएको हो ।

पार्क युनोप्सद्धारा सञ्चालित सिटीज फर वुमेन (महिला मैत्री शहर) परियोजना र वीरेन्द्रनगर नगरपालिकाको लागत साझेदारीमा बन्न लागेको हो ।

नगरपालिकाका अनुसार १० महिनामा निमार्ण कार्य सम्पन्न हुने मिलन पार्कका लागि कर बाहेक करिब १ करोड ६५ लाख रुपैयाँ लागत लाग्नेछ । पार्कको डिजाइन स्थानीय समुदायसँग प्रत्यक्ष छलफल र सुझाव संकलन गरेर तयार गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले पार्क महिलामैत्री मात्र नभई समावेशी शहर निर्माणतर्फको महत्वपूर्ण कदम हुने बताइन् । उनले बालबालिका, युवा, ज्येष्ठ नागरिक र महिलासहित सबैलाई उपयोगी हुने गरी पार्कको संरचना बनाइने समेत जानकारी दिएकी छन् । उनले भनिन्, “यो पार्क केवल महिलामैत्री मात्र होइन, सबै उमेर र वर्गका मानिसलाई स्वागत गर्ने खालको हुनेछ र यसले वीरेन्द्रनगरलाई अझ व्यवस्थित र समावेशी शहर बनाउन सहयोग पु¥याउनेछ ।”

नगरपालिकाले सिटीज फर वुमेन परियोजनाबाट वीरेन्द्रनगरमा महिलामैत्री संरचना थपिने मात्र नभई, समावेशी सहरीकरण र जलवायु उत्थानशील शहर निर्माणमा समेत ठूलो योगदान पुग्ने विश्वास लिएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया