रुकुम पश्चिममा पाँच वर्षदेखि बन्द आलु चिप्स उद्योग : ६३ लाखभन्दा बढी लगानी जोखिममा

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१ मा स्थापना गरिएको आलु चिप्स उद्योग पाँच वर्षदेखि सञ्चालनमा आउन नसक्दा राज्यको ६३ लाख ४६ हजार रुपैयाँ लगानी जोखिममा परेको छ।

‘वरिंगे सामुहिक फलफूल खेती तथा सिस्ने हिमाल अर्गानिक आलु चिप्स उद्योग’ नामक उक्त आयोजना सञ्चालन नहुँदा लगानी बालुवामा पानी झैं खेर गएको स्थानीयको गुनासो छ।

कृषि विकास कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा भवन निर्माण तथा उपकरण खरिदका लागि ४९ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा आठबिसकोट नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत घेराबारको लागि थप १४ लाख १ हजार रुपैयाँ खर्च गरेको थियो। तर यति लगानी हुँदासमेत उद्योग सञ्चालनमा आउन सकेको छैन।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८०/०८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदनमा पनि लगानीको सदुपयोग नभएको उल्लेख छ। प्रतिवेदनमा निर्माण सम्पन्न भएको उद्योग सञ्चालनमा नआएको र फेरि पनि थप लगानी गरिएकोप्रति आपत्ति जनाइएको छ। महालेखाले उद्योग तत्काल सञ्चालनमा ल्याई नगरवासीले सेवा लिन सक्ने अवस्था बनाउनु पर्ने उल्लेख गरेको छ।

वडा नं. १ का अध्यक्ष देवबहादुर घर्तीका अनुसार उद्योग समयमै निर्माण भए पनि विद्युत् आपूर्ति नहुँदा नियमित रूपमा सञ्चालन गर्न नसकिएको हो। केही समय जेनेरेटरमार्फत सञ्चालन गरिएको भए पनि खर्च बढी भएपछि विद्युत् लाइन विस्तारको पर्खाइमा रहेको उनको भनाइ छ।

उद्योग सञ्चालनका लागि समिति दर्ता गरिएको र जग्गा लिजमा लिइएको जानकारी दिँदै उनले आवश्यक सबै उपकरण र सामग्री तयारी अवस्थामा रहेको बताए। हाल वडामा विद्युतिकरणको काम भइरहेको छ तर भूगोलको विकटताका कारण पोल र तारको ढुवानीमा ढिलाइ भएको छ।

अब आलु उत्पादनको समय समेत आएको हुँदा विद्युत् लाइन विस्तारसँगै उद्योग सञ्चालनमा आउने वडा कार्यालयको अपेक्षा छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया