कर्णालीका महिला पत्रकारका लागि व्यवसायिक र लैंगिक संवेदनशीलता तालिम सुरू

सुर्खेत । कर्णालीका महिला पत्रकारहरूका लागि व्यवसायिक र जवाफदेही पत्रकारितामा लैंगिक संवेदनशीलता सम्बन्धी तिनदिने तालिम सुरू भएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजना तथा पिपुल्स इन निड, दिव्य विकास स्रोत केन्द्र, सोसेक नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा कर्णाली प्रदेशका महिला पत्रकारहरूका लागि व्यवसायिक र जवाफदेही पत्रकारितामा लैंगिक संवेदनशीलता सम्बन्धी तीनदिने तालिम सुर्खेतमा सुरू भएको हो ।

पत्रकारितामा लैंगिक संवेदनशीलतालाई प्रवर्द्धन गर्नुका साथै महिला पत्रकारहरूलाई अझ व्यवसायिक र जिम्मेवार बनाउनु यो तालिम आयोजना गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जनाएका छन् ।
उनले सहभागीहरुले महिला सम्बन्धी मुद्दाहरू समाचार लेखनमा कसरी प्रभावकारी रूपमा उठाउन सकिन्छ भन्ने विषयमा सिक्ने अवसर पाउने समेत जनाए ।

तालिमको उद्घाटन समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले महिला पत्रकारिताको महत्व औंल्याउँदै महिला पत्रकारहरूको भूमिकाबिना समाजमा समावेशी र न्यायपूर्ण समाचारको विकास हुन नसक्ने बताए । कँडेलले पत्रकारितामा लैंगिक समानताको प्रवर्द्धन गर्नु आवश्यक रहेको र जसका लागि प्रदेश सरकार पनि आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिता पेशामा महिलाको सहभागिता बढ्दै गए पनि उनीहरूले अझै पनि थुप्रै चुनौतीहरू सामना गरिरहेको बताउदै व्यवसायिकता, जवाफदेहिता र लैंगिक संवेदनशीलताको समझ राख्दै पत्रकारिता गर्नु आजको आवश्यकता रहेको बताईन्। महिला पत्रकारिताको सशक्तीकरणका लागि यस्ता तालिमहरू आवश्यक रहेको समेत शर्माले बताइन्।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र बरिस्ठ पत्रकार मोहन मैनाली यो तिनदिने तालिमका प्रशिक्षक रहेका छन् ।

तालिममा कर्णाली प्रदेशका चार जिल्लाका महिला पत्रकारहरूको सहभागिता रहेको छ। तीन दिनसम्म सञ्चालन हुने यो तालिमले कर्णाली प्रदेशका महिला पत्रकारहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया