सुर्खेत । जाजरकोट जुनीचाँदे गाउँपालिका–६ की निर्मला शाही र उनकी बहिनी शर्मिला शाहीले उच्च अदालत सुर्खेतको गेटमा आत्मदाहको प्रयास गरेका छन्।
निर्मला शाहीका श्रीमान रामबहादुर शाहीको हत्यामा न्यायको माग गर्दै उनीहरूले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका थिए। सुरक्षाकर्मीको तत्परता र हस्तक्षेपपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ।
रामबहादुर शाही गत माघ १८ गते रहस्यमय अवस्थामा मृत फेला परेका थिए। उनी माघ १७ गते जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ स्थित शिवपुरी माध्यमिक विद्यालयमा भइरहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका थिए। खेलकुद कार्यक्रम सकेर घर फर्कने क्रममा काहाँरे खोलामा उनको शव फेला परेको थियो। घटनास्थलमा रगतको दाग र शरिरमा चोट देखिएपछि प्रहरीले हत्या भएको आशंका गरेको थियो।
प्रहरीको अनुसन्धानपछि जाजरकोट जिल्ला अदालतमा नौ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। फागुन १३ गते अदालतले थुनछेक बहसपछि चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने बाँकीलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएको थियो। अदालतको यस निर्णयसँग असन्तुष्ट निर्मला शाहीले न्यायको माग गर्दै सोमबारदेखि उच्च अदालत सुर्खेतको गेटमा धर्ना दिँदै आएकी थिइन्।
बिहीबार धर्नाका क्रममा शर्मिला शाहीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले शर्मिलाले अचानक पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
निर्मलाले बहिनी शर्मिला शाहीलाई नियन्त्रणमा लिएपछि आफुपनी उनीसङ्गै प्रहरी कार्यालय जाने इच्छा व्यक्त गरेपछि भने उनलाई पनि प्रहरी कार्यालय ल्याइएको विश्वकर्माको भनाई छ।
उनको मुद्दा अदालतमा विचाराधीनका रहेको बताउदै छिट्टै पेशी तोकेर आवश्यक निर्णय गर्ने उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापा भनाइ छ।
आफूले न्याय नपाएसम्म संघर्ष जारी राख्ने निर्मला शाहीको भनाई छ । श्रीमानको हत्यारालाई उन्मुक्ति दिन नपाउने भन्दै माग पूरा नभएसम्म संघर्ष गर्ने उनले भनिन्।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २० गते बिहिवार