काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले ज्यादती र मानव अधिकार उल्लङ्घन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ।
प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका नेताहरूले आयोगका आयुक्तहरूसँग भेट गरी घटनाको विस्तृत विवरणसहित ज्ञापनपत्र बुझाएका हुन्। उक्त पत्रमा रविको जीवन र मानव अधिकारको सुरक्षाका लागि आवश्यक कदम चाल्न आयोगसँग माग गरिएको छ।
ज्ञापनपत्रमा लामिछानेमाथि भएको व्यवहारलाई अस्वाभाविक, अशोभनीय र गैरकानुनी भन्दै प्रहरीले बिना अनुमति घरभित्र प्रवेश गरी शयनकक्षमै गएर धरपकड गरेको उल्लेख छ। रास्वपाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश जिल्ला प्रशासनमा नपुगेकै अवस्थामा प्रहरीले त्यही राति उनलाई घरमै गएर पक्राउ गरेको थियो। उनलाई एक दिन काठमाडौं र दुई दिन रुपन्देहीमा हिरासतमा राखिएको थियो र सोमवार कारागार चलान गरिएको थियो।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २६ गते बुधवार