सुर्खेत । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ३ हजार १८१ मतान्तरण सहित विजयी भएका छन् ।
शाहीले १४ हजार ८१६ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका नरेश भण्डारी ११ हजार ६३५ ल्याएका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाही ७ हजार १४३ मतसहित तेस्रो, नेकपा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मतसहित चौथो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायत भने ४२१ मत सहित पाचौँ स्थानमा सीमित रहिन् । कुल ७२ हजार ४४४ मतदाता रहेको जुम्लामा ४१ हजार २०८ मत खसेको थियो ।
ज्ञानेन्द्र शाही राजनीतिमा सामाजिक सञ्जालमार्फत उठाएका आवाज र भ्रष्टाचार विरोधी अभियानका कारण चर्चित नेता हुन् । उनी ‘वाइडबडी’ घोटाला लगायतका ठूला मुद्दामा आफ्नो सक्रिय अभिव्यक्तिका लागि परिचित छन् । २०७९ को निर्वाचनमा पनि राप्रपाबाट विजयी बनेका शाहीले संसद्मा कर्णालीका स्थानीयसँगको सम्बन्ध बलियो बनाउन र क्षेत्रका सामाजिक–आर्थिक समस्याहरू उठाउने गरेका थिए ।
यस्तै, विनीता कठायत यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद थिइन्, तर यसपटक प्रत्यक्ष उम्मेदवार बनेकी थिइन् । रास्वपाले पिछडिएको क्षेत्रको महिला कोटाबाट सांसद बनाएको व्यवस्था अनुसार उनी संसद् पुगेकी थिइन् ।
यता, नरेश भण्डारी लामो अनुभव भएका संविधानसभा सदस्य हुन् । उनी २०६४ सालको पहिलो संविधानसभाबाट निर्वाचित भएका थिए । त्यसपछि २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको गैरसरकारी विधेयक संसद्मा दर्ता गराएर स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २३ गते शनिवार