सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको १४औं अधिवेशन आगामी वैशाख ६ गते हुने भएको छ।
हाल लक्ष्मण कँडेलको नेतृत्वमा रहेको संघको तीन वर्षे कार्यकाल सकिन लागेका बेला नयाँ कार्यकालका लागि सोमबार उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो।
अध्यक्ष पदमा हर्षविक्रम खड्काले मात्र उम्मेदवारी दिएपछि उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ। यसअघि २०७९ सालको निर्वाचनमा खड्का ४८ मतको अन्तरले पराजित भएका थिए। त्यतिबेला कँडेलले ९११ र खड्काले ८६३ मत पाएका थिए।
यसबेला भने संघको चुनावी माहोल खासै उत्साहजनक देखिएको छैन। कोभिड–१९ पछि व्यापारमा आएको मन्दी र व्यापारीहरूको कमजोर आर्थिक अवस्थाका कारण नेतृत्वको दौडधुप समेत देखिएन। एक व्यापारीका अनुसार महामारीपछि धेरै व्यापारी आर्थिक संकटमा छन्, जसले गर्दा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न कोही तयार भएनन्।
सर्वसम्मत नेतृत्व चयनका लागि हालका अध्यक्ष कँडेलसहित पूर्व अध्यक्षहरू निरञ्जन केसी, पदम शाही र धनबहादुर रावतले छलफल गरेका थिए। अध्यक्ष पदमा आकांक्षा राखिरहेका वरिष्ठ उपाध्यक्ष गणेश बस्नेत र महासचिव भद्र भण्डारी अन्ततः पछि हटेपछि खड्काको निर्विरोध निर्वाचन सुनिश्चित भएको हो। बस्नेत पुनः वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका छन्। सोही पदका लागि दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘शर्मा’ र प्रेम रावत पनि प्रतिस्पर्धामा छन्।
अन्य पदहरूमा भने प्रतिस्पर्धा कायमै छ। बाणिज्य उपाध्यक्षमा भद्र भण्डारी, सिंहराज बम र रामप्रसाद पाण्डे प्रतिस्पर्धामा छन्। महिला उपाध्यक्षमा तारा रावत र कृति गुभाजु शाक्य, उद्योग उपाध्यक्षमा पूर्णप्रसाद जैशी पाण्डे र प्रेम पाण्डेबीच प्रतिस्पर्धा हुनेछ।
महासचिव पदका लागि राजु पाण्डे र ज्ञानेन्द्र विश्वकर्माले उम्मेदवारी दिएका छन्। कोषाध्यक्षमा अर्जुनजंग शाही र लक्ष्मण देवकोटा तथा उप–महासचिवमा सन्देश रावत, पूर्णप्रसाद अधिकारी र पहलसिंह बस्यालबीच प्रतिस्पर्धा हुनेछ।
२४ सदस्यीय कार्यसमितिमा ९ पदाधिकारीका लागि २१ र १५ सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार उम्मेदवारी रुजु चैत २६ गते, प्रारम्भिक नामावली प्रकाशन चैत २७ गते र दाबी–विरोध चैत २७ र २८ मा हुनेछ। उम्मेदवारी फिर्ताको म्याद चैत ३० र ३१ गतेसम्म रहनेछ भने अन्तिम नामावली चैत ३१ गते प्रकाशित हुनेछ। संघको मतदान वैशाख ६ गतेका लागि तय गरिएको छ ।
फ्याक्ट सञ्चार । २०८१ चैत्र २४ गते सोमवार