कर्णाली प्रदेश अस्पतालको लापरबाही प्रमाणित, पीडित परिवारलाई १५ लाख क्षतिपूर्ति

सुर्खेत। कर्णाली प्रदेश अस्पतालमा चिकित्सकहरूको लापरबाहीका कारण ज्यान गुमाएकी दैलेखकी भीमा गुरुङका परिवारले लामो संघर्षपछि अन्ततः न्याय पाएका छन्। प्रदेश अस्पतालको लापरबाहीका कारण २२ वर्षीया भीमाको ०८० साल चैत २९ गते मृत्यु भएको थियो।

सुरुमा पटक–पटक आन्दोलन गरे पनि अस्पताल प्रशासनले कुनै सुनुवाइ नगरेपछि पीडित परिवार अधिवक्ताको सहयोगमा अदालत पुगेका थिए। करिब एक वर्षपछि, बुधबार सुर्खेत जिल्ला अदालतले मृतक भीमाका पति र छोरीलाई प्रतिवादीबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको हो।

भीमाका ससुरा धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल, त्यसका तत्कालीन निर्देशक डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध मुद्धा दायर गरेका थिए। उनले उपचारको क्रममा भएको त्रुटी, हेलचक्राइँ र लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै क्षतिपूर्ति माग गरेका थिए।

पीडित पक्षका तर्फबाट अधिवक्ताहरू विद्याभूषण मानन्धर, उपेन्द्र रावत र शेरबहादुर खत्रीले बहस गरेका थिए। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले प्रतिवादीहरूलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।

भीमा सामान्य पेट दुखाईका कारण आठबिस नगरपालिका–५, पिपलकोटबाट वीरेन्द्रनगरस्थित निजी अस्पतालमा उपचारका लागि गएकी थिइन्। त्यहाँको प्रारम्भिक जाँचमा पाठेघरमा समस्या देखिएपछि उनलाई ०८० चैत २९ गते बिहानै कर्णाली प्रदेश अस्पताल भर्ना गरिएको थियो। आफू हिँडेर अस्पताल गएकी भीमालाई केही समयमै मृत घोषणा गरियो।

मृत्युपछि अस्पताल प्रशासनले बेवास्ता गरेपछि पीडित परिवारले आन्दोलन चर्काएका थिए। झण्डै एक महिनासम्म शव नबुझी अस्पतालमा राखिएको थियो। पछि उनीहरूले शव बुझेर अन्त्येष्टि गरेका थिए।




फेसबुकबाट तपाईको प्रतिक्रिया