काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले लगातार १६औं दिन पनि काठमाडौँको सडक तताएका छन्। चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका उनीहरूले आज माइतीघर–नयाँ बानेश्वर सडक क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।
शिक्षकहरूको प्रदर्शनका कारण प्रमुख सडकखण्ड अवरुद्ध हुँदा बागमती करिडोरसहित अन्य क्षेत्रका सडकहरूमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
सरकारले आउँदो बजेट अधिवेशनमा ‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा ऐन ल्याउने आश्वासन दिएको भए पनि शिक्षकहरू सरकारले फेरि धोका दिने आशंकामा छन्। उनीहरूको अडान छ — ऐन जारी नभएसम्म आन्दोलन नरोकिने।
यसबीच, आन्दोलनको प्रत्यक्ष असर अब शैक्षिक क्षेत्रमा देखिन थालेको छ। वैशाख ११ गतेदेखि सुरु हुने तय भएको कक्षा १२ को वार्षिक परीक्षा अनिश्चित बन्दै गएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, परीक्षामा शिक्षकहरूको सक्रिय सहभागिता अनिवार्य भएकाले उनीहरू नआए परीक्षा सञ्चालन असम्भव छ। “शिक्षकहरू आउने आशामा छौँ, तर समय अत्यन्तै कम हुँदै गएको छ,” अध्यक्ष शर्माले बताए।
परीक्षा प्रभावित भए सम्पूर्ण शैक्षिक प्रणालीमा गम्भीर असर पर्ने भएकाले बोर्डले शिक्षक र सरकार दुवैलाई संवेदनशील बन्न आग्रह गरेको छ।
नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै परीक्षा प्रक्रियामा सहभागी नहुने अडान दोहोर्याएको छ।
यता, निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्रका लागि भर्ना र कक्षा सञ्चालन सुरु गरिसकेका छन्। यसले सामुदायिक विद्यालयका विद्यार्थीहरू थप पछाडि पर्ने खतरा देखिएको शिक्षाविद्हरूको भनाइ छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ४ गते बिहिवार