सुर्खेत । लोकतान्त्रिक निर्माण व्यवसायी संघको सुर्खेत जिल्लामा तदर्थ समिति गठन गरिएको छ।
सोमबार सुर्खेतमा सम्पन्न संघको प्रथम भेलाले अध्यक्षमा जयप्रकाश पौडेल (जे.पी.) लाई सर्वसम्मत रूपमा चयन गरेको हो ।
निर्माण व्यवसायीहरूको हकहित, अधिकार र व्यावसायिक प्रतिष्ठाका लागि स्थापित संघको नेतृत्व अब नयाँ टोलीले सम्हाल्ने भएको हो।
पौडेलको अध्यक्षतामा बनेको तदर्थ समितिको उपाध्यक्षमा विवेक कुमार थापा र रविन्द्र बहादुर शाही चयन भएका छन् । महासचिवमा प्रेम सिंह ठकुरी, उप–महासचिवमा सन्तोष विसी र कोषाध्यक्षमा देवेन्द्र देव गिरी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा गणेश डिसी, रमेश आर.सी., उमेश खड्का, प्रकाश भेदी, टेकबहादुर रूचाल र लोकबहादुर गुरूङ (एल.जी.) रहेका छन्।
संघका नवनियुक्त अध्यक्ष जयप्रकाश पौडेल (जे.पी.) ले सबैको सहमतिमा आफू नेतृत्वमा आउन पाएकोमा आभार प्रकट गर्दै निर्माण व्यवसायीहरूको हक र हितका लागि निरन्तर लागिरहने प्रतिवद्धता जनाए।
“व्यवसायीहरूको इमानदार आवाज बन्ने, पारदर्शिता कायम गर्दै संस्थालाई संस्थागत ढंगले अघि बढाउने हाम्रो प्राथमिकता हुनेछ,” पौडेलले भने, “व्यवसायमा देखिएको अनियमितता, विभेद र सरकारी निकायसँगको समन्वयमा सुधार ल्याउनेतर्फ यो समिति प्रतिबद्ध रहनेछ।”
उनले निर्माण व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यवसायमैत्री बनाउने दिशामा संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। संघले चाँडै नै सम्पूर्ण सदस्यहरूको भेलामार्फत विस्तृत कार्ययोजना सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।
नवगठित समितिको नेतृत्वले स्थानीय तहसँग सहकार्य गर्दै निर्माण व्यवसायमा देखिएका समस्याको समाधान गर्ने, व्यवसायीबीच ऐक्यबद्धता र व्यावसायिक मर्यादालाई कायम राख्ने लक्ष्य लिएको बताइएको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख ३० गते मङ्गलवार