छेडागाड नगरपालिका–१२ स्थित मनघाटको प्रशासनिक केन्द्रमा जाने गोरेटो बाटो मर्मत गरी १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ। ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नारासहित सामाजिक न्याय र मर्यादित कामको सन्देश दिँदै स्थानीयवासी तथा सरोकारवाला निकायले श्रमद्वारा बाटो मर्मत गरेका हुन्।
श्रम दिवसकै अवसर पारेर करिब ८० जना सर्वसाधारणको सहभागितामा खोलामा ग्याविन जडान र गोरेटो सम्याउने काम भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छेडागाड नगरपालिकाका संयोजक धनबहादुर रावतका अनुसार ग्लोबल आईएमई बैंक नजिक खोलाको कारण आवतजावतमा समस्या भएकाले उक्त काम गरिएको हो।
नगरप्रमुख रत्नबहादुर खडकाले श्रमिक दिवस श्रम गर्ने व्यक्तिको सम्मान गर्ने अवसर भएको बताउँदै श्रमिकको मेहनतको कदर गर्दै मर्यादित जीवनयापन सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले स्थानीय र प्रशासनिक कामका लागि आवतजावत गर्ने नागरिकलाई सहज बनाउने उद्देश्यले बाटो मर्मत गरिएको उल्लेख गरे।
“श्रमको उचित सम्मान गर्दै श्रम रोजगारीलाई निरन्तरता दिन सबैले पहल गर्नुपर्छ,” प्रमुख खडकाले भने, “यस्ता कार्यले जनस्तरमै श्रमिकको सम्मान र सामाजिक उत्तरदायित्वको अभ्यासलाई बल पुर्याउँछ।”
फ्याक्ट सञ्चार । २०८२ बैशाख १८ गते बिहिवार