हुम्ला। हुम्लाको सिमकोट गाउँपालिकामा लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सांस्कृतिक देउडा कार्यक्रम सम्पन्न भएको छ। महिला जागरण अभियानको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम महिला जागरण अभियानकी अध्यक्ष ज्ञानु रोकायाको संयोजकत्वमा भएको हो। अध्यक्ष रोकायाले युवा पुस्ता तीव्र रूपमा लागुऔषधको जोखिममा परेको भन्दै त्यसबाट जोगाउनका लागि समुदायमै सचेतना फैलाउने उद्देश्यले देउडा कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन्।
“देउडा हाम्रो मौलिक सांस्कृतिक सम्पदा हो। यसै माध्यमबाट सन्देश दिन सजिलो हुने भएकाले हामीले यो माध्यम रोजेका हौं,” उनले भनिन्।
सिमकोट गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा पर्ने ठेहेमा आयोजित कार्यक्रममा देउडा गीतमार्फत लागुऔषधको दुष्परिणाम, त्यसले पार्ने सामाजिक र पारिवारिक असरबारे मार्मिक शैलीमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सहभागी कलाकारहरूले ‘जोगौं युवा, बचाऔं भविष्यम्’, ‘नशा होइन, शिक्षा चाहिन्छ’ लगायतका चेतनामूलक पंक्तिहरू समेटिएको देउडा प्रस्तुत गरे।
स्थानीय अभिभावक, शिक्षक, महिला समूह, युवा क्लब र विद्यार्थीहरू पनि कार्यक्रममा सहभागी भएका थिए। सहभागीहरूले देउडा कार्यक्रममा उठाइएका सन्देशहरू अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिए।
कार्यक्रमको अन्त्यमा आयोजक टोलीले भविष्यमा पनि यस्ता जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गाउँ–गाउँमा निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख १८ गते बिहिवार