सुर्खेत। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले विश्व रेडक्रस दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले विश्व रेडक्रस दिवसको अवसरमा ‘मानवताको पक्षमा’ भन्ने मुल नाराका साथ वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा सम्पन्न गरेको हो ।
हरेक वर्ष मे ८ तारिखका दिन रेडक्रसका संस्थापक हेनरी ड्युनाँको जन्मदिनको अवसर पारेर मनाइने विश्व रेडक्रस दिवसलाई नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले जनस्तरसम्म पुग्ने गरी प्रभावकारी कार्यक्रमहरू गरेर मनाएको छ ।
प्राथमिक उपचार तालिम, रक्तदान कार्यक्रम, मृत्यु नजिक पुगेका बिरामीलाई बचाउने जीवनरक्षक अभ्यास, सवारी चालक र सहचालकलाई आपतकालीन उद्धार तथा प्राथमिक उपचारसम्बन्धी व्यवहारिक प्रशिक्षण, साथै यातायात क्षेत्रका व्यक्तिहरूलाई प्राथमिक उपचार बाकसको अनिवार्यताको सन्देश दिने जस्ता सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले सवारी साधनहरूमा प्राथमिक उपचार बाकस अनिवार्य बनाइनु पर्ने आवश्यकता औँल्याउँदै रेडक्रसले यो अभियानलाई सफल बनाउन यातायात कार्यालय तथा व्यवसायीहरूसँग सहकार्य गर्न पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले प्राथमिक उपचार तालिमहरूलाई अझ विस्तार गर्ने, प्रत्येक सवारीसाधनमा प्राथमिक उपचार सामग्री पुर्याउने र दुर्घटना हुँदा उद्धारकर्ताहरू सक्षम होउन् भन्ने लक्ष्यका साथ संस्था अगाडि बढिरहेको जनाए ।
यस्तै, सुर्खेत जिल्ला शाखाका उपाध्यक्ष प्रदीप्त पौडेलले रेडक्रस संस्था मानव सेवामा समर्पित रहेकाले यस्ता जनसरोकारका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्नु आजको आवश्यकता भएको बताए। उनले प्राथमिक उपचारको ज्ञानलाई गाउँघरदेखि शहरी क्षेत्रमा विस्तार गर्दै आपतकालीन अवस्थाहरूमा सुसंस्कृत र व्यवस्थित प्रतिक्रिया दिने वातावरण बनाउनु पर्नेमा जोड दिए।
आगामी दिनहरूमा यस्ता गतिविधिहरूलाई अझ व्यापक, व्यावसायिक र प्रभावकारी ढंगले अघि बढाउने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सवारी चालक, सहचालक, यात्रु, यातायात व्यवसायी, रेडक्रस स्वयंसेवक, आँखा अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो।
फ्याक्ट सञ्चार । २०८२ बैशाख २५ गते बिहिवार