हुम्लाको रीप गाउँका बासिन्दा कर्णाली नदीको जीर्ण काठेपुल तरेर जोखिम मोलेर यात्रा गर्न बाध्य

हुम्ला। सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीय बासिन्दा कर्णाली नदीको खडिखेतस्थित जीर्ण काठेपुल तरेर दैनिक आवत–जावत गर्न बाध्य छन्। गाउँपालिका र प्रदेश सरकारको वेवास्ताका कारण जोखिमपूर्ण पुलको भरमा स्थानीयको जीवन कटिरहेको छ।

स्थानीय दिलिप कार्कीका अनुसार सर्केगाड गाउँपालिका केन्द्र, सदरमुकाम सिमकोट र जिल्ला बाहिर जानका लागि यही पुल प्रयोग गर्नुपर्छ। “हामी केवल हिँड्न मात्र होइन, सिमेन्ट, रड, ग्यास सिलिण्डरजस्ता भारी सामग्री पनि यही पुलबाट ओसार्नुपर्छ,” कार्कीले बताए, “तर पुलको अवस्था निकै जीर्ण छ। दुई/तीन जना एकैपटक तर्न पनि सक्दैनन्।”

पुल तर्ने क्रममा पालो कुरेर जानुपर्ने अवस्था छ। यसले बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई झनै सास्ती भएको स्थानीयले बताएका छन्।

अर्का स्थानीय श्री फडेराले आधारभूत पूर्वाधारमा जनप्रतिनिधिको चासो नदेखिएको गुनासो गरे। “कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सहज आवतजावत हुने संरचना हुनुपर्छ,” उनले भने। फडेराका अनुसार काठेपुलको एक भाग झुण्डिएको अवस्थामा छ, जसले वर्षायाममा थप खतरा निम्त्याउँछ। वर्षा याममा पानीको बहावसँगै पुल बग्ने गरेको छ भने हिउँदमा स्थानीयले अस्थायी रूपमा पुनः बनाउने गरेका छन्। कहिलेकाहीँ तुइन तरेर जानुपर्ने अवस्था समेत आउँछ।

वडाध्यक्ष सिद्ध कार्कीका अनुसार खडिखेतमा झोलुङ्गे बेलिब्रिज निर्माणका लागि गत मंसिरमा प्रदेश सरकारले ओभरसियर पठाएर डिपिआर गरे पनि कार्यान्वयनमा नआएको हो। “स्थानीयलाई हालका लागि झोलुङ्गे पुल भए सहज हुन्थ्यो,” वडाध्यक्ष कार्कीले भने, “गाउँपालिकाको तर्फबाट पनि विशेष पहल गरिएको छैन।”

पुल निर्माणमा सम्बन्धित निकायको बेवास्ताका कारण अहिले पनि रीप गाउँका स्थानीय जोखिम मोलेर नदी पार गर्न बाध्य छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया