सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा ३८ दिनकी शिशुको मृत्यु, तीन जना बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बिरुवाबारीमा कोइला बालेर सुतेको अवस्थामा ३८ दिनकी शिशुको मृत्यु भएको छ भने तीन जना बेहोस भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–२ मा स्थायी घर भई हाल वीरेन्द्रनगर–१२ मा मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएका अन्दाजी ३० वर्षीया तारा बुढा, उनकी भदैनी अज्दाजी १३ वर्षीया संगम बुढा, छोरा १० वर्षीय प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठाभित्र कोइला बालेर सुतेका थिए ।

आज बिहान करिब १० बजेसम्म कोठाभित्रबाट नउठेपछि घरबेटीले बोलाउँदा १० वर्षीय प्रकाश बुढाले ढोका खोलेका थिए । त्यस क्रममा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने प्रकाश बुढा सामान्य अवस्थामा थिए । शिशु प्रतिक्षा बुढाको भने घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेका तारा बुढा, संगम बुढा र प्रकाश बुढालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउ सुर्खेत लगिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा खटिएर मुचुल्का लगायतका प्रारम्भिक प्रक्रिया सम्पन्न गरी शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया