काठमाडौं। नेपाली यू-१९ फुटबल टोली साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मंगलबार भारत जाँदैछ। प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशमा हुँदैछ।
नेपालले सन् २०१५ मा पहिलो संस्करणमा उपाधि जितेको थियो भने दोस्रो संस्करणमा पनि विजेता बनेको थियो। त्यसपछि भने नेपालले उपाधि जित्न सकेको छैन। सातौं संस्करणको प्रतियोगितामा नेपाल समूह बी मा आयोजक भारत र श्रीलंकासँग छ।
राम थापाको कप्तानीमा रहेको टोलीमा बी डिभिजन लिग खेलिरहेका धेरै खेलाडी छन्, जसले फिटनेसमा सहयोग पुग्ने विश्वास मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको छ। टिममा सुवास बमजस्ता सिनियर टिममा डेब्यु गरिसकेका खेलाडीसमेत छन्।
नेपालले पहिलो खेल मे ११ मा श्रीलंकासँग र दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ। समूह चरणको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रशिक्षक श्रेष्ठले अघिल्ला गल्ती दोहोरिन नदिन सानो-छोटो कुरामा समेत मिहिनेत गरिएको बताए।
भारत र बंगलादेश प्रमुख प्रतिस्पर्धी मानिएको यस संस्करणमा नेपाल उपाधि जित्ने दाबेदारको रूपमा अघि बढ्न चाहन्छ।
फ्याक्ट सञ्चार । २०८२ बैशाख २३ गते मङ्गलवार