अवरुद्ध कर्णाली राजमार्ग  सञ्चालन, करेन्ट लागेर ज्यान गुमाएका माझीका परिवारसँग क्षतिपूर्तिको सहमति

दैलेख ।करेन्ट लागेर ज्यान गुमाएका नगेन्द्र माझीका परिवारसँग क्षतिपूर्तिको सहमति भएपछि अवरुद्ध गरिएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ।

राकम कर्णालीस्थित आठबिस नगरपालिका–४ निवासी २९ वर्षीय माझीको आइतबार साँझ घाँस काट्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो। माझी चढेको रुखमा विद्युतको तार छोएको र त्यही क्रममा करेन्ट प्रवाह भई ज्यान गएको ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए।

सो घटनापछि आक्रोशित आफन्तले सोमबार बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध गरेका थिए। नेपाल विद्युत प्राधिकरण कालिकोट, प्रहरी प्रशासन र पीडित परिवारबीच सोमबार सहमति भएपछि राजमार्ग पुनः सञ्चालनमा आएको हो।

सहमति अनुसार मृतकका परिवारका एक सदस्यलाई रोजगारी दिने र कानुनअनुसार पाउने क्षतिपूर्तिबाट काजकिरियाका लागि एक लाख रुपैयाँ अग्रिम उपलब्ध गराउने निर्णय गरिएको प्रहरी निरीक्षक खड्काले बताए।

मृतक माझीको शव पोष्टमार्टमका लागि दुल्लु अस्पताल ल्याउने तयारी भइरहेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया