डोल्पाको त्रिपुरासुन्दरी-१ का तीन सय घरधुरी दुई दिनदेखि अन्धकारमा

डोल्पा। डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित करिब तीन सय घरधुरी दुई दिनदेखि विद्युत् विहीन भएका छन्। छलगार्ड लघु जलविद्युत् आयोजना प्रयोगमा रहेको मेसिन अचानक बिग्रिएपछि बत्ती नबलेको हो।

झन्डै १८ वर्षअघि विश्व वन्यजन्तु कोषको सहयोगमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना अहिले उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ। तर एक्कासी मेसिनको बेरिङ बिग्रिएपछि विद्युत् सेवा पूर्ण रूपमा बन्द भएको आयोजनाका कर्मचारी मोतीप्रसाद हमालले जानकारी दिए।

“बुटवलबाट उपकरण मगाउनुपर्ने हुन्छ, तर समितिसँग खर्च गर्ने पैसा छैन,” हमालले भने, “कहिलेसम्म बत्ती आउँछ भन्ने टुंगो छैन।”

नगरपालिका केन्द्रसमेत रहेको त्रिपुराकोट बजारमा लगातार दुई दिनदेखि बत्ती नहुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ। रातको समयमा स्थानीयवासीहरू खाना पकाउने तेलबाट बत्ती बालेर अन्धकार भगाउन बाध्य भएका छन्।

आयोजनाको व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बिष्टले समितिको खातामा रकम नभएको भन्दै नगरपालिकासँग सहयोगका लागि समन्वय भइरहेको बताए। “यसअघि पनि ऋण लिएर मेसिन मर्मत गरेका थियौँ,” बिष्टले भने, “अब फेरी कसरी सुधार गर्ने भन्ने चिन्तामा छौं।”

स्थानीयले विद्युत् सेवा तत्काल सुचारु गरियोस् भन्ने माग गरेका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया