दैलेख–२ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल विजयी 

सुर्खेत । दैलेख–२ मा लक्ष्मी प्रसाद पोखरेल एमालेबाट विजयी भएका छन् । उनी नेपाली काँग्रेसका दिक्पाल शाहीलाई ४ हजार ३३७ मत अन्तरले पराजित गरी प्रतिनिधिसभामा सदस्य बनेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका दिक्पाल शाहीले ९ हजार ५५२ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बखत बहादुर शाही ६ हजार ७९७ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका योगेन्द्र शाही ३,८५१ मतसहित चौथो स्थानमा रहेका छन् ।
पोखरेलको राजनीतिक यात्रा २०४२ मा नेमकिपा जिल्ला समिति सदस्य हुँदै सुरु भयो । २०४८ मा प्रथम केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । २०४९ मा गाविस अध्यक्ष र २०५४ मा वडा सदस्य बनेका पोखरेलले त्यतिबेला घट्दो नेमकिपाको प्रभावको बीचमा राजनीतिक सक्रियता जारी राखे ।

२०५४ मा नेमकिपा छाडेर एमालेमा प्रवेश गरे । पछि एमाले विभाजन भएपछि उनी वामदेव गौतम नेतृत्वको मालेमा लागे र २०५५ मा मालेबाट जिल्ला विकास समितिको चुनावमा सदस्य पदमा लडे । तर एमालेका भद्र भण्डारीसँग पराजित भए ।

 २०७० को दोस्रो संविधानसभा चुनावमा उनी एमालेबाट उम्मेदवार बनेर संसदीय यात्रा सुरु गरे । यस बेला उनले १५ हजार ६१९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमबहादुर शाही १३ हजार ९६ मत ल्याएका थिए । २०७९ मा दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी नेपाली काँग्रेसका दिक्पाल शाहीसँग मात्र १५३ मतले पराजित भए ।

यो पटक भने उनी काग्रेंसका दिक्पाल शाहीलाई पराजित गर्दै प्रतिनिधिसभामा सदस्य बनेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया