सुर्खेतमा चार जिल्लाका सामुदायिक सुरक्षा जालो सदस्यहरूलाई तीन दिने तालिम सम्पन्न

लैंगिक हिंसा न्यूनीकरण र विपद् जोखिम व्यवस्थापनमा समुदायको उथ्थानशीलता प्रवर्द्धन मुख्य उद्देश्य

सुर्खेत । टेवा संस्थाको आयोजनामा सुर्खेतमा सम्पन्न तीन दिने तालिमले विपद् जोखिम व्यवस्थापन र लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि विषयमा चार जिल्लाका सामुदायिक सुरक्षा जालोका सदस्यहरूलाई दक्षता प्रदान गरेको छ।

तालिममा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट तथा लुम्बिनी प्रदेशको नेपालगञ्ज उपमहानगरपालिकाका सामुदायिक सुरक्षा जालोका सदस्यहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य समुदाय स्तरमै विपद् जोखिम व्यवस्थापन तथा लैंगिक हिंसा न्यूनीकरणका उपायहरूको जानकारी दिनु, सशक्त र उथ्थानशील समुदाय निर्माणमा सहयोग पुर्‍याउनु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रममा प्यानल छलफल समेत गरिएको थियो, जसमा सरोकारवाला निकायका प्रतिनिधिहरूले आफ्नो अनुभव, चुनौती र सफलताका पक्ष प्रस्तुत गरेका थिए।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक स्तरमै विपद् जोखिम तथा हिंसाका घटनाहरू घटाउने हो भने स्थानिय सरकार, प्रहरी, स्वास्थ्य, र समुदायबीच समन्वय अत्यन्त जरुरी रहेको बताए । उनले वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाले महिला लक्षित कार्यक्रमहरू, आत्मरक्षा तालिम र कानुनी सहायता संयन्त्रमार्फत लैंगिक हिंसा विरुद्धको अभियानलाई सुदृढ बनाउँदै आएको समेत जनाए ।

प्रदेश अस्पताल सुर्खेत अन्तर्गत सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रमुख कल्पना थापाले हिंसा पीडितलाई कानुनी, स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रदान गर्दै आएको बताउदै समुदायमा अझै धेरै सचेतना आवश्यक रहेको बताइन् । उनले भनिन् “पीडितहरूलाई निःशुल्क सेवा दिन हामी सधैं तयार छौं, तर उनीहरू सशक्त भएर आफैं पनि अगाडि आउन आवश्यक छ।”

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नं ८ का वडा सचिव मनोज पौडेलले बताएअनुसा वडास्तरमै जोखिम पहिचान, सचेतना कार्यक्रम र सुरक्षात्मक संरचना निर्माणमा स्थानीय तह सक्रिय रहेको छ। तर समुदायकै सहभागिता अझ बढी आवश्यक छ, यस्तो तालिमबाट समुदायका अगुवाहरू सशक्त हुन्छन् भन्नेकुरामा उनको विश्वास छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले प्रहरी प्रशासनले महिला, बालबालिका तथा जोखिममा परेका व्यक्तिका लागि छुट्टै सेवा केन्द्र स्थापना गरेको बताउदै उनले भने “हामी ‘महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा डेस्क’ मार्फत पीडितको उजुरी लिने, आवश्यक कानुनी सहायता दिने, र मनोपरामर्श सेवा समेत प्रदान गर्दै आएका छौं।”

तीन दिने तालिममा विपद् जोखिम पहिचान, पूर्वतयारी र व्यवस्थापन, समुदायमा हुने घरेलु तथा लैंगिक हिंसाका कारण, परिणाम र न्यूनीकरणका उपायहरूबारे सैद्धान्तिक तथा व्यावहारिक सत्रहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले आ–आफ्नो क्षेत्रमा देखिएका चुनौती, सफल प्रयास र आगामी कार्ययोजना पनि साझा गरेका थिए।

सामाजिक रुपान्तरणमा समुदायकै अग्रसरता जरुरी हुन्छ र समुदायका अगुवा, महिला समूह, युवा र सरोकारवालासँग मिलेर अझ प्रभावकारी ढंगमा काम गर्न प्रतिबद्ध रहेको टेवा संस्थाले जनाएको छ।

तालिममा सहभागिहरूले तालिमले आफूहरूलाई थप जानकार बनाएको, कार्यस्थलमा प्रयोग गर्न मिल्ने ज्ञान प्राप्त भएको तथा समुदायमा सचेतना अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्।




फेसबुकबाट तपाईको प्रतिक्रिया