सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा आइतबार दिउँसो आगलागी हुँदा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतवार दिउँसो करिब १ बजे प्रेम बहादुर खड्काले सञ्चालन गर्दै आएको उद्योग भित्र विद्युतको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो लागेपछि तत्काल जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो वीरेन्द्रनगर नगरपालिकाको दमकल, प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति नभएको पुष्टि भए पनि उद्योगभित्र रहेका मेसिन, कच्चा पदार्थ र अन्य सम्पत्ति भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । हाल क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विद्युत सर्टकै कारण आगलागी भएको देखिए पनि थप अनुसन्धान भइरहेको छ ।

फ्याक्ट सञ्चार । २०८२ असोज १२ गते आइतवार