सुर्खेत । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आज दिउँसो करिब ३ बजे बिर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिल बहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परेर पर्वत विक, हुम बहादुर थापा, नविन विक र सुनिता गिरी सामान्य घाइते भएका छन् । उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ र अवस्था सामान्य रहेको जनाइएको छ । घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम बहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोष्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फ्याक्ट सञ्चार । २०८२ असार २० गते शुक्रवार