कर्णालीमा जडिबुटी क्षेत्रमा ठूलो सम्भावना छ : मन्त्री चौलागाईँ

सुर्खेत । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँले कर्णाली प्रदेशमा जडिबुटी क्षेत्रको विकासका लागि ठूलो सम्भावना रहेको बताएका छन्। बुधबार कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जडिबुटी पकेट क्षेत्रको विकासमा विशेष ध्यान दिने बताए।

मन्त्री चौलागाईँले प्रदेश सरकारले जडिबुटी क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सके संघीय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। “कर्णाली जडिबुटीको ठूलो सम्भावना बोकेको प्रदेश हो, यसलाई व्यवस्थित गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्छ,” उनले भने।

मन्त्रालयको ब्रिफिङपछि उनले मन्त्रालय तथा मातहतका निकायमा १२६ पद रिक्त रहेको जानकारी दिँदै प्रदेशस्तरबाटै समाधान गर्न सकिने कर्मचारी पदपूर्ति लगायतका विषयमा समयमै पहल गर्न सुझाव दिए।

विकास आयोजनाका सन्दर्भमा उनले टुक्रे आयोजना र उपादेयता नदेखिने कार्यक्रमका कारण अपेक्षित नतिजा नआएको र यसले जनतामा निराशा बढाएको उल्लेख गरे। योजना छनोट र कार्यान्वयनमा गम्भीरता आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री चौलागाईँले विकासका नाममा प्रकृतिमा क्षति पुग्ने गतिविधि नगर्न चेतावनीसमेत दिए। “हामी करोडौँ रुपैयाँ खर्च गरेर रारामा सिमेन्ट र कंक्रिटको प्रयोग गर्दै विकास गरिरहेका छौँ,” उनले भने, “यस्ता निर्णय के आधारमा लिइन्छन् भन्ने प्रश्न उठ्छ। योजना बनाउँदा वातावरणीय पक्षलाई प्राथमिकतामा राख्नुपर्छ।”

उनले दिगो विकास र वातावरण संरक्षणलाई सँगसँगै लैजान आवश्यक रहेको भन्दै प्रदेश सरकारलाई सचेत र जिम्मेवार भएर काम गर्न आग्रह गरे।




फेसबुकबाट तपाईको प्रतिक्रिया