सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा रहेका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको परिणामअनुसार नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समान ४–४ सिट जितेका छन् । त्यसैगरी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १–१ सिट जितेका छन्।
सार्वजनिक परिणामअनुसार सुर्खेत–१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरे ।
सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश कुमार सापकोटा ३० हजार ३७८ मतसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नारायण कोइरालालाई १४ हजार ४५४ मतान्तरले पराजित गरे ।
दैलेख–१ मा नेपाली कांग्रेसकी बासना थापा १२ हजार ३७२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् ।
दैलेख–२ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका दिक्पाल शाहीलाई ४ हजार ३३७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।
जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरे। यससँगै बस्नेतको लगातार जितको यात्रा रोकिएको छ ।
कालीकोटमा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही ११ हजार ३३८ मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका नगिन्द्र शाहीलाई ९८६ मतान्तरले पराजित गरे। शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत हुन्।
रुकुम पश्चिमबाट नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्मा २१ हजार ६०९ मतसहित विजयी भएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मालाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।
सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका रमेशकुमार मल्ल २३ हजार १८९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललितबहादुर चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
डोल्पामा नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर बुढा ६ हजार ८०२ मतसहित विजयी भएका छन् । उनले नेकपा एमालेका लंकबहादुर रोकायालाई १ हजार ४०६ मतान्तरले पराजित गरेका हुन् ।
हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया ८ हजार ७९७ मतसहित विजयी भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायालाई १ हजार ५५४ मतान्तरले पछि पारे ।
जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गरेका हुन् ।
कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये मुगुमा भने मतगणना जारी रहेको छ । मतपरिणामअनुसार मुगुमा नेपाली कांग्रेसले अग्रता कायम राखेको निर्वाचन आयोग कर्णाली प्रदेशले जनाएको छ ।

फ्याक्ट सञ्चार । २०८२ फाल्गुन २४ गते आइतवार